बुटवल । नेपाली महिलाहरुको पर्ब आज हरितालिका (तीज) । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । नेपालमा पौराणिक समयदेखि नै यो पर्व मनाउंदै आएको पाइन्छ । नेपाली जनजीवनको सामाजिक–साँस्कृतिक पहिचान व्यक्त गर्ने यो पर्वको आफ्नै विशेषता र महत्व रहेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन भन्ने मान्यता रहेको छ ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तीजको धार्मिक एवं सास्कृतिक महत्त्व रहेको छ ।
सभामुखद्धारा हरितालिका (तीज)को अवसरमा शुभकामना व्यक्त
लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नेपाली महिलाहरुको महान् पर्व हरितालिका (तीज)को अवसरमा शुभकामना व्यक्त गरेका छ्न ।
उनले सोमवार विहान शुभकामना सन्देश जारी गर्दै देश विदेशमा रहनु भएका लुम्विनी प्रदेशवासी सम्पुर्ण आमा– बुवा, दाजु–भाई, दिदी– बहिनीहरुमा शुभकामना व्यक्त गरे । उनले विशेष गरी महिला दिदी वहिनीहरुमा यो पर्वले हरेक दृष्टीकोणले अब्वल र सक्षम बनाउन अभिप्रेरणा प्रदान गरोस भनी कामना गरेका छ्न।
सभामुख घर्ती मगरले सामाजिक, राजीतिक, सांस्कृती र आर्थिक बेदना र दर्द भरिएको तीजको गितको लय अन्त्य गरी खुसी, संमृद्धीको लय साट्न सकौं भनी शुभकामना व्यक्त गरेका हुन ।
सभामुख घर्ती मगरले आधुनिकीकरणको नाममा भड्किलो कार्यले साँस्कृतिक पक्षलाई ओझेलमा पारेको भन्दै चिन्ता व्यक्त गरेका छ्न । उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन– “आधुनिकीकरणको नाममा तिजलाई उत्ताउलो र खर्चमूखी बनाउँदै लगिएको छ । यसले सामाजिक मुल्यमान्यता बोकेको मौलिक सांस्कृतीक पर्वहरुमा विकृतीहरु घुस्न थालेका छन । जुन तीजको नाममा हाम्रो समाजमा भित्रिएको नकारात्मक पक्ष हो । यस्ता गलत प्रवृति बढ्दै जांदा आर्थिक भार मात्र होइन मौलिक सँस्कृतिमा पनि असर पुगेको छ । तसर्थ तीज पर्वलाई मौलिक पर्वको रुपमा मनाउन म अनुरोध समेत गर्दछु ।”
धर्म सस्कृति, परम्परासंग जोडिएको पर्वहरुले एकता,सामाजिक सद्भाव, सह–अस्तित्व, भातृत्वको विकास र सम्बन्ध सुदृढ गर्दै आएकाले। ति पर्वहरुको संरक्षण गर्नु सबै नेपालीहरुको दायित्व रहेको शुभकामना सन्देशमा उल्लखे गरिएको छ ।
सभामुख घर्ती मगरले राजनीतिक परिवर्तनमा नेपाली महिलाहरुको अतुलनीय योगदान रहेको उल्लेख गर्नुहुदै योगदानको उच्च सम्मान व्यक्त गरेका छ्न।
उनले लुम्विनी प्रदेश सभा महिलाहरुको हक अधिकार स्थापित गराउने सन्दर्भमा सकारात्मक भूमिकाको साथमा नीति तथा कानुन निर्माण गर्दै आएको छ र महिलाहरुलाई राजनीतिक नेतृत्वसंगै आर्थिक पहुंचको वृद्धि पनि पहल गरिहने प्रतिवद्धता समेत व्यक्त गरेका छ्न ।
You might also like