Nepali News Portal

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पौडेल र पोख्रेल प्रतिनिधि आम्नेसाम्ने

बुटवल  । नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको नेतृत्वको लागि सहमती हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरु गरिएको छ । अध्यक्ष केपी शर्मा ओलिले सहमतिबाट नेतृत्व चयन गरि लुम्बिनीबाट एकताको सन्देश दिनु पर्ने भन्दै सहमतिको लागि दबाब दिएका थिए । तर कार्यकर्ताले अध्यक्ष ओलिको दबाब सहितको निर्देशन स्वीकार गरेन । सर्बसम्मत नेतृत्व चयन गर्ने अध्यक्षको प्रयास एमाले लुम्बिनीका कार्यकर्ताले फिका साबित गरे । शनिवार देखि शुरु भएको अधिवेशनमा सहमतीको प्रयास असफल भएपछि निर्वाचनको प्रक्रिया सुरु गरेको एमालेको निर्बाचन कमिटीले जनाएको छ।
नेतृत्वको लागी अध्यक्षमा  केन्द्रिय सदस्य समेत रहेका हरि रिजाल र बर्तमान अध्यक्ष राधाकृष्ण कंडेलले उम्मेद्बारी दिएका छन् । रिजाललाई बिजय बिराज बिष्ट प्रस्तावक र बालसिंह काउछाले समर्थन गरेका छन् भने कंडेललाई राजु श्रेष्ठ प्रस्तावक र भोजराज पोखरेलको समर्थनमा उम्मेदवारी  दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ।
प्रमुख निर्वाचन अधिकृत  हरि भण्डारीले आईतवार राती ८ बजेदेखी निर्वाचन प्रक्रियाको काम स्थगित गरि सोमबार बिहान १० बजेसम्म मनोनयनको समय थप गरिएको थियो । अध्यक्ष लगायत उपाध्यक्ष, सचिव, उपसचिव सदस्य सबै पदमा आवश्यक संख्या भन्दा धेरैको उम्मेदवारी दर्ता भएको निर्वाचन कमिटीले जनाएको छ।
सोमबार मनोनयनको काम सकिएपछि मतदानको काम सुरु गरिने प्रमुख निर्वाचन अधिकृत भण्डारीले बताए। अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।
लुम्विनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष बिष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाईको रुपमा लिंदा अझ पेचिलो बन्दै गएको छ। महासचिव पोखरेलले केन्द्रिय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले बर्तमान अध्यक्ष राधाकृष्ण कंडेललाई समर्थन गरेका छन्।
त्यसै गरी पार्टीका केन्द्रिय पदाधिकारी र सदस्यहरु समेत दुई भागमा बिभाजित भएको देखिन्छ । पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीसंगै केन्द्रिय सदस्यहरु चेत नारायण आचार्य, भुमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा लागेका छन् भने सचिव छविलाल बिश्वकर्मा तथा गोकर्ण बिष्ट, पोलिटब्युरो सदस्यहरु लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरी लगायत कंडेलको पक्षमा लागेका छन् ।
उपाध्यक्ष विष्णु पौडेल काठमाडौंमा र महासचिव शंकर पोखरेल यतिबेला चाईना भ्रमणमा रहेको स्रोतले बताएको  छ । अधिवेसन प्रतिनिधिहरु समेत नेताहरु जस्तै दुई भागमा बिभाजित देखिएका छन् । मतदान दिउँसो ३ बजेदेखी मतदान हुने सम्भावना रहेको निर्वाचन कमिटीले जनाएको छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.