बुटवल । बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु गरे ।
सो अवसरमा नगर प्रमुख पाण्डेयले स्वास्थ्य क्षेत्रमा बुटवलबासी लाई सहुलियत दिने नीति रहेको बताए । उनले शिशु पोषण कार्यक्रमअन्तरगत २ हजार रुपैयाँ, महिलाहरुको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताए ।
बुटवल उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थाहरुलाई अझ सुविधासम्पन्न बनाउने र छिटै नै बुटवल १३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।
उनले आर्थिक वर्षमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरी महिलाहरुलाई दुग्धवर्धक जटिबुटीजन्य सामग्री प्रदान गर्ने र दन्त शिविरहरु सञ्चालन गर्ने कार्यक्रम रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरी, वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठ, ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवलमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए ।
अबदेखि बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको शहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाहरुबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले बताए ।