विराटनगर । कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ ।
माओवादी केन्द्र स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बाबुराम गौतमलाई पार्टीले सरकारमा पठाउने जानकारी दिए ।
सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त भएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । आजै सरकार साझेदार दलबाट सहभागी हुने मन्त्रीले पनि सपथग्रहण गर्नेछन् ।
को हुन् गौतम ?
२०४६ सालको पञ्चायतविरोधी आन्दालेनबाट राजनीतिक यात्रा आरम्भ गरेको गौतम ओखलढुंगाको लिखु गाउँपालिका ९ मा जन्मेका हुन्। गौतम बहुदलपछि सर्लाहीको महादेव जनता माविमा अखिलको इकाइ अध्यक्ष भएका थिए। अध्ययनका सिलसिलामा काठमाण्डौ पुगेका उनी आरआर क्याम्पसमा अध्ययन गर्दै गर्दा अखिलबाटै स्ववियुको राजनीति गरेका थिए।
विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी २०५२ साल फागुन १ गतेदेखि नै माओवादी जनयुद्धमा होमिएका थिए। उनी त्यसबेला काठमाडौं–ओखलढुङ्गा सम्पर्क समितिको सचिव थिए। उनले राजनीतिक जीवन यात्रामा दुई वर्षसम्म जेल जीवन व्यतित गरे। जेल जीवनमुक्त भएसँगै उनले माओवादी कमाण्डरको रुपमा ओखलढुंगामा काम गरेका थिए।
०६० सालमा अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिवको कार्यभार सम्हालेका उनी शान्ति प्रक्रियापछि पनि मजदुर संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए। उनले मजदुर संगठनमा रहँदा झापा, मोरङ र सुनसरीमा पनि लामो समय काम गरेका छन्।
२०७० सालदेखि भने उनी ओखलढुङ्गा जिल्लामा पार्टी अध्यक्ष भएर भूगालकै राजनीतिमा काम गर्न थाले। अध्यक्ष हुँदै उनी ओखलढुङ्गाको इन्चार्ज समेत भए । पार्टीगत राजनीतिमा मजदुर आन्दोलन हुँदै योगदान गरेका उनको संसदीय यात्राका लागि पहिलो अनुभव हो।
त्यसो त उनको ०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेद्वार पनि बनेका थिए। तर, त्यो समय भने उनी सांसद बन्न पाएका थिएनन्। ०७४ को निर्वाचनमा पनि संसदीय अभ्यासका लागि निर्वाचनमा जान नचाहेका होइनन्। तर, पाएनन। अहिलेको निर्वाचनमा भने कांग्रेसको सहयोगमा निर्वाचित भएका गौतम पहिलो चरणमै प्रदेशसभाको सभामुख भएका थिए । उनले राजनीतिशास्त्रमा आइएसम्मको अध्ययन पुरा गरेका छन ।