बन्छन अरबौ खर्चेर सरकारी संरचना, बन्दैन संचालन कार्यविधी
कार्यविधि नबन्दा राज्यको अरवौ रुपैया त्यसै खेर गईरहेको छ भने संचालन खर्च नहुदा मर्मत गर्न समेत कठिन अवस्थामा पुगेको छ ।
लुम्विनी हेडलाइन्स संवादादता
बुटवल । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण पूरा भएको एक वर्ष भन्दा वढी भयो । बुटवल–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र बनेको हो । जसको लागि सरकारले शहरी विकास तथा भवन निर्माण विभाग मार्फत १ अर्ब ११ करोड खर्चेको छ ।
सम्मेलन केन्द्रको गत भदौ ११ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । यसको नामाकरणमा समेत विवाद भयो । नेपाली कांग्रेसले गिरिजा प्रसादको नाम जोडेर नामाकरणको लागि बुटवल नगरसभामा प्रस्ताव लगेको थियो । तर एमालेले लगायतका दलले त्यसमा आपत्ती जनाए ।
उद्घाटन भएको झण्डै एक वर्ष हुदां समेत पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका आयोजना प्रमुख धर्मेन्द्र पन्थी बताउछन ।
उनका अनुसार सम्मेलन केन्द्रको सञ्चालन समिति गठन गर्ने र समितिले सम्मेलन केन्द्र सञ्चालनका लागि निजी क्षेत्रलाई लिजमा दिन सक्ने गरी कार्यविधि स्वीकृतिका लागि सहरी विकास मन्त्रालयमा पठाइएको छ ।
विकास समिति ऐनअन्तर्गत सम्मेलन केन्द्र सञ्चालन समिति गठन गरेपछि त्यसले सम्मेलन केन्द्र भाडामा दिन सक्ने व्यवस्थाअनुसार अघि बढ्ने उनको भनाईछ । समितिमा तीन तहकै सरकारका प्रतिनिधि रहने गरी व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनको दीर्घकालीन योजना निर्माणका लागि विभागका उपमहानिर्देशक प्रकिरण तुलाधरको संयोजकत्वमा अध्ययन कार्यदल बनाइएको र त्यसको रिपोर्ट आएपछि मात्र सञ्चालन ढाँचा तय हुने बताईएको छ । सम्मेलन केन्द्रको हालको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा छन सरकारी अधिकारीहरु ।
सम्मेलन केन्द्र रेखदेख र सरसफाइ, मासिक एक लाख बढी विद्युत् महसुल लगायतमा मासिक १४ लाख बढी खर्च भएको आयोजना प्रमुख पन्थीले बताए ।
त्यसै गरी लुम्बिनीमा अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र बनेको १४ महिना भएको छ । तर, सभाहल सञ्चालन गर्न अझैसम्म कार्यविधि बनेको छैन । २०७९ साल जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सभाहल उद्घाटन गरेका थिए ।
झण्डै एक अर्ब रुपैयाँमा निर्मित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र सञ्चालन गर्न कार्यविधि बनाउनेको विषयमा पटक पटक छलफल भए पनि कार्यविधि बनाउनको जिम्मा अझैसम्म कसैलाई नदिएको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले बताए ।
लुम्बिनीको महत्त्व र मूल्यमान्यता अनुसारका कार्यक्रमका लागि मात्रै सभा हल भाडामा दिन सक्ने गरी काम चलेको छ । त्यस आधारमा उद्घाटन भएको १४ महिनामा विकास कोषका बाहेक आधा दर्जन जति सङ्घ संस्थाहरूले कार्यक्रम गरेका छन् ।
पाँच हजार जना अटाउने उक्त सभा हल कोषले कुन प्रकृतिको कार्यक्रमको हो, समय हेरेर दैनिक एक लाखदेखि ५० हजारसम्म भाडा लिने गरिएको छ ।
२०७३ सालमा २५६०औँ बुद्ध जयन्ती समारोहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार जना अटाउने सभा हल निर्माण गर्ने घोषणा गरेका थिए ।
२०७५ साल वैशाख १७ गते २५६२ औँ बुद्ध जयन्तीका दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभा हलको शिलान्यास गरेकी थिइन् । दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको भए पनि चार वर्षमा पूरा भएको उक्त सभा हलको तत्कालीन प्रम शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
साढे एक बिघा जमिनमा फैलिएको ठाउँमा आवश्यकताअनुसार ससाना हलमा विभाजन गर्न मिल्ने प्रविधि जडान गरिएको विकास कोषका प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए । संचालनको लागि कुनै कार्यविधि बनेको छैन । भवनको छानो चुहीने भईसकेको छ ।
सरकारले राष्ट्यि गौरवको आयोजना संचालन गर्छ । ति आयोजनाहरु कतिपय सम्पन्न पनि भईसकेका छन । तर सम्पन्न भएका आयोजनाको संचालन गर्ने कार्यविधि नवन्दा भौतिक संरचनाहरु खण्डहरमा परिणत बन्दै गएको छ । अरवौ लगानीको संरचनाको सदुपयोग हुन नसक्दा राजश्व समेत गुमेको छ ।