Nepali News Portal

एमाले आक्रामक रहेको कांग्रेस बैठकमा प्रतिवेदन पेश

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । ११ महिनापछि बसेको बैठकको पहिलो दिनमा १० वटा एजेण्डा र चार वटा प्रतिवेदन पेस भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको फेसबुक पेजमार्फत बैठक प्रत्यक्ष प्रसारण भएको जानकारी गराउँदै बैठकमा एजेण्डा पेस गर्न महामन्त्री विश्वप्रकाश शर्मालाई अनुमति दिएका थिए ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले गठबन्धनको सरकारलाई स्थिर र स्थायी बनाउन सदनभित्र सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
केन्द्रीय समिति बैठकमा संसदमा कांग्रेसको भूमिकाबारे प्रतिवेदन पेश गर्दै नेता लेखकले कानुन बनाउने सवालमा समेत यथेष्ट ध्यान पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले संसदभित्र प्रभावकारी भूमिका निर्वाहका साथै सदन सुसञ्चालनका लागि पनि कांग्रेसको जिम्मेवारीमा पर्ने बताए । उनले अहिलेको संसदमा प्रतिपक्ष आक्रामक रहेको पनि बताए । ‘सत्ता गठबन्धन परिवर्तन भयो त्यसले पनि प्रमुख प्रतिपक्ष आक्रामक छ । आक्रमकमात्रै होइन परिपक्व त छ तर कहिलेकाहीँ अधैर्य देखिन्छ’, लेखकले भने, ‘र, अरू प्रतिपक्ष आक्रामक र अधैर्य छन् । उनले सत्ता गठबन्धन मात्र होइन कि प्रतिपक्षसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने प्रतिवेदन पेश गरेका छन ।

उनले पाँच वटा जिम्मेवारी संसदमा निर्वाह गर्नुपर्ने कांग्रेसमा रहेको भन्दै कानुन निर्माण र सरकारलाई जनताप्रति उत्तरदायी बन्नुपर्ने बताए । उनले संसदभित्र सभापतिहरुको चयन, केही महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्नेतर्फ कांग्रेसको ध्यान जानुपर्ने र कांग्रेस संसदीय दलको कार्यसमिति समेत बनाउनुपर्ने भएकाले कतिपय नीतिगत सवालमा गठबन्धनभित्रका उत्पन्न हुने विचारमा पनि समन्वयकारी भूमिका कांग्रेसको जिम्मेवारीमा पर्ने बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.