Nepali News Portal

लुम्बिनी प्रदेश सरकार मिडियामैत्री छ , संघीय सरकार अनुदार भयो: मुख्यमन्त्री

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी  प्रदेश सरकार मिडिया मैत्री रहेको दाबी गर्नु भएको छ । उहाँले मिडियाका सरोकारवालासँग समन्वय गरेर बजेट व्यवस्था गरिएको तथापि कार्यान्वयनमा केही समस्या देखिएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा भएको राष्ट्रिय सञ्चार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडियालाई सबल बनाउन लागे पनि संघीय सरकार मिडियालाई कमजोर बनाउन लागेको बताउनु भयो ।
“अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशले सञ्चार क्षेत्रमा बढी बजेट विनियोजन गरेको छ तर माथीका कारण पनि कार्यान्वयन पक्षमा केही समस्या देखिएको छ ।” उहाँले भन्नुभयो ।” मैले सचिबहरुलाई निर्देशन दिएको छु त्यो कार्यान्वयन हुन्छ ।”
उहाँले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा संघीय सरकार अघि बढेको भन्दै गम्भीर बन्नुपर्ने बताउनु भयो ।
फागुन २१ पछि सरकारको मिडिया, न्यायालय, जनसंगठन र ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण नराम्रो ढंगले अघि बढेको टिप्पणी गर्नु हुँदै लोकतन्त्रको मर्म विपरीत गतिविधि बढ्दै गएको बताउनु भयो । “अहिले निशाना मिडियामाथि छ, निशाना गरिब निमुखामाथि छ, निशाना ट्रेड युनियनमाथि छ, त्यहीँ भएर तपाईं हामी सबै सचेत र गम्भीर बन्न जरुरी छ।” उहाँको भनाई छ ।
मुख्यमन्त्री आचार्यले संघीय सरकारले सरकारी सञ्चार माध्यममा मात्रै विज्ञापन दिने गरी जारी गरेको परिपत्रप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत आफूहरुले कडा असन्तुष्टि राखेको जानकारी दिनु भयो। ‘प्रधानमन्त्रीबाट करेक्सन गर्ने आश्वासन पायौँ, तर अझै सम्म केही भएको छैन ।”
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दिपक आचार्य, बुटवल उप-महानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, केन्द्रिय सदस्य रामराज पोख्रेल , नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्र ऋषि चौलागाईं , मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, रोल्पाका अध्यक्ष सुबिना सुनारी,डब्लू डब्लूजेका अध्यक्ष  रामकला खडका, बुटवल उधोग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.