बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकाका २१ वर्षीय विवेक बनियाको हत्या भएको परिवारले दाबी गरेको छ। मृतकका परिवारले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै गाडीमा सवार चालकसहित ४ जनालाई सामान्य चोटपटक समेत नलागेको अवस्थामा आफ्ना छोराको मात्रै मृत्यु हुनु शङ्कास्पद रहेको बताएका हुन्। सडक दुर्घटनामा परी मृत्यु भएको भनिएकोमा कुनै तथ्य नरहेको उनिहरुको भनाई छ ।
परिवारले उक्त घटनामा संलग्न भएको आरोप लगाउँदै चार जनाविरुद्ध किटानी जाहेरी दिन खोज्दा पनि प्रहरीले दर्ता नगरेको गुनासो गरेका छन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्।
मृतकका बुबा बद्री विशाल बनियाका अनुसार चैत १५ गते विवेक बुटवल जान भन्दै घरबाट निस्किएका थिए। सोही राति तिलोत्तमा–१५ मधवलिया क्षेत्रको राजमार्ग नजिक ‘दुर्घटना’ मा परेर मृत्यु भएको भनिए पनि घटनाको प्रकृति शङ्कास्पद देखिएकाले निष्पक्ष छानबिन गर्न माग गरिएको उहाँले बताउनु भयो ।
परिवारका अर्का सदस्य हरिराम बनियाले गाडीमा सवार अन्य व्यक्तिलाई सामान्य चोट समेत नलागेकाले यो दुर्घटना नभई योजनाबद्ध हत्या हुन सक्ने आशंका व्यक्त गर्नु भयो । गाडीमा सवार कोटहीमाई गाउँपालिका–२ का पूर्व वडाध्यक्षका छोरा २२ वर्षीय कौशल मिश्रा, २५ वर्षीय वीरेन्द्र यादव, २४ वर्षीय राजप्रताप चाइ र २२ वर्षीय सतेन्द्र मिश्रामाथि संलग्नताको आशंका बनियाले गर्नु भएको छ ।
यस बिषयमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताउनु भएको छ । गाडी चालक फरार रहेकाले पक्राउ परेपछि घटनाको वास्तविकता खुल्ने उहाँले बताउनु भयो । सवार अन्य चार जना भने प्रहरीको निगरानीमा रहेको र थप प्रमाण भेटिए कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो।
You might also like