बुटवल । सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाको निःशुल्क डायलाइसिस र मुटुको निःशुल्क उपचार बापतको रकम भुक्तानीमा ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रभावित अवस्थामा पुगेको छ ।
बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारसंग गरेको सम्झौता अनुसारको रकम भुक्तानी नहुदा अस्पतालको सेवा प्रभावित हुने अवस्था आएको अध्यक्ष एजाज आलमले जानकारी दिनु भयो ।
उहाँका अनुसार मङ्सिर मसान्त सम्म १७ करोड ८१ लाख ९ हजार ३७९ रुपैयाँ पाउन बाँकी छ। अघिल्लो वर्षको समेत गरी मङ्सिर मसान्त सम्म २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँ बाँकी रहेकोमा जम्मा २ करोड ५८ लाख २२ हजार ५ सय रुपैयाँ मात्र भुक्तानी हुँदा अस्पताल चरम आर्थिक सङ्कटमा परेकोले विपन्न नागरिक औषधी उपचार कार्यक्रम मार्फतको निःशुल्क उपचार सेवा बन्द गर्नुपर्ने निर्णयमा पुगेको अध्यक्ष आलमले जानकारी दिनु भयो ।
आज आयोजित पत्रकार सम्मेलनमा सरकारबाट भुक्तानी हुनुपर्ने रकम पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाको निःशुल्क डायलाइसिस र मुटुको निःशुल्क उपचार बन्द गर्ने घोषणा गरिएको छ ।
सरकारबाट प्राप्त गर्नुपर्ने रकम लामो समयसम्म निकासा नगर्दा अन्य उपचार सेवा समेत प्रभावित हुने अवस्था सिर्जना भएकोले सरकारले घोषणा गरेको विपन्न नागरिक औषधी उपचार कार्यक्रम मार्फतको निःशुल्क उपचार सेवा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आई परेको जनाएको हो ।
सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रम मार्फत क्याथल्याब बाट मुटुका बिरामीहरूको उपचार गर्दा १ लाख र मिर्गौलाका बिरामीहरूको डायलाइसिस गर्दा एक पटकमा २ हजार ५ सय रुपैयाँ निःशुल्क उपचारका लागि सूचिकृत अस्पतालहरूलाई उपलब्ध गराउँदै आएको छ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले पनि उक्त उपचारका लागि सूचिकृत भई मिर्गौलाका बिरामीहरूको निःशुल्क डायलाइसिस र मुटुका बिरामीहरूको निःशुल्क उपचार गर्दै आएको छ। जसअनुसार यस वर्ष मात्रै क्याथल्याब मार्फत १ हजार ३८४ जना मुटुका बिरामी र ५५१ जना मिर्गौलाका बिरामीहरूको नियमित डायलाइसिस गरी १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरेको अस्पतालले जनाएको छ। तर, सरकारले रकम भुक्तानी नगर्दा भने चरम आर्थिक सङ्कट उत्पन्न भई निःशुल्क सेवा नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको अस्पतालले जनाएको छ।
“भुक्तानी हुँदा अस्पताल चरम आर्थिक सङ्कटमा परेकोले विपन्न नागरिक औषधी उपचार कार्यक्रम मार्फतको निःशुल्क उपचार सेवा बन्द गर्नुपर्ने निर्णयमा पुगेका छौं ।” अस्पतालका अध्यक्ष आलमले भन्नुभयो -“सरकारबाट पाउनुपर्ने रकम लामो समयसम्म पाउन नसक्दा चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब भुक्तानी र बिरामीको उपचारका लागि चाहिने औषधि खरिदका लागि रकम अभाव भएको छ ।”
औषधी सप्लाई गर्ने कम्पनीहरूलाई लामो समयसम्म रकम भुक्तानी दिन नसक्दा औषधी र उपकरण दिन बन्द गर्न थालेकोले समस्या भएको छ । सरकारले निःशुल्क उपचार बापतको रकम कुनै वर्ष स्वास्थ्य विभागबाट त कुनै वर्ष बिमा बोर्डबाट भुक्तानी गर्दा पनि समस्या उत्पन्न भइरहेको छ । अध्यक्ष आलमका अनुसार आर्थिक वर्ष २०७९र८० मा स्वास्थ्य बिमा बोर्डबाट स्वास्थ्य विभागमा सार्दा बाँकी रहेको ६ करोड १९ लाख, ७२ हजार ५ सय रुपैयाँ हालसम्म पनि प्राप्त हुन सकेको छैन। यस आर्थिक वर्षदेखि फेरी स्वास्थ्य विभागबाट बिमा बोर्डमै भुक्तानीको लागि सार्दा समस्या फेरी दोहोरिएको छ ।
गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा २०७० सालदेखि सुरु गरिएको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले २०७३ सालमा क्याथल्याब सेवा सञ्चालन गरी हालसम्म ६ हजार ५६९ जनालाई एन्जियोग्राफी, एन्जियोप्लाष्ट, अस्थायी पेसमेकर, स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टिसिस, राइट हार्ट क्याथेटराजेसन र पी.टी.एम.सी सेवा प्रदान गरेको छ।त्यस्तै २०७२ सालदेखि सुरु गरिएको मिर्गौलाको उपचार सेवाबाट हालसम्म ३ लाख ३३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्रदान गरेको छ भने हाल पनि ५ सय ५१ जनाले नियमित रूपमा मिर्गौलाको नियमित डायलाइसिस गराउँदै आएका छन्।
लुम्बिनी प्रदेशका सबै अस्पतालहरूमा गरी साढे आठ सय हाराहारी मिर्गौलाका बिरामीहरूले नियमित डायलाइसिस गराउँदै आएकोमा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मात्रै ५५१ जनाको डायलाइसिस गराउँदै आएको छ। बाहिरी जिल्लाका बिरामीहरूलाई बुटवलमा आई नियमित डायलाइसिस गराउँदा आउने जाने समस्या सँगै आर्थिक भार समेत थपिने भएकोले अस्पतालले बुटवलसँगै दाङको लमही, पाल्पाको तानसेन, स्याङ्जाको वालिङ र कपिलवस्तुको वाणगंगामा डायलाइसिस सेन्टर सञ्चालन गरी बिरामीहरूलाई सहज सेवा प्रदान गर्दै आएको छ ।
You might also like