देउखुरी (दाङ ) लुम्बिनी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेर सभामुख समक्ष पेश गरेको छ ।
बैशाख ३० गते प्रदेश सभामा दर्ता भएको उक्त विधेयक दफाबार छलफलको लागि विषयगत समितीमा पेश भएको थियोे । सभापति दिल कुमारी बुढाको अध्यक्षतामा बसेको बैठकले माननीय सदस्यहरुले हालेको संसोधन प्रस्तावमाथी छलफल गरि प्रतिबेदन सभामुख समक्ष पेश गर्ने निर्णय गरेको थियो । प्रदेश मामिला तथा कानुन समितिको २७ औं बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा गठन गर्न बनेको विधेयकलाई पारित गरेर सभामुख समक्ष पेश गरेको समितिका सदस्य इन्द्र जित थारुले जानकारी दिनुभयो। अव प्रदेश सभामा विधेयक प्रस्तुत गर्ने र त्यहाँबाट पारित गर्ने तयारी छ । स्थानीय तहमा कार्यरत महिला कर्मचारीले महिनाको एक दिन महिनावारी विदा लिन पाउने व्यवस्था राखिएको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा पनि यो ब्यवस्था गरिएको थियो । स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्रका कुनै स्थानीय तहमा मन्त्रालयले सरूवा गर्न सक्ने, स्थानीय तहका कर्मचारी सरूवा भई जादा दुवै पालिकाको अनुमति नचाहिने व्यवस्था राखिएको छ ।
हाल अन्तरपालिका सरुवा हुन खोज्दा दुवै पालिकाको अनुमती चाहिने प्राबधान छ । प्रमुख प्रशासकीय अधिकृतले दैनिक रूपमा आफूले गरेको कार्य सम्पादनको विवरण अध्यक्ष वा मेयरलाई पेश गर्नुपर्ने, स्थानीय तह अन्तर्गतका कर्मचारीको दैनिक कार्य सम्पादनको विवरण कार्यालयमा पेश गर्नुपर्ने, गर्भवती महिलालाई उल्लेखित बिदा अपुग भएमा विज्ञ चिकित्सकको सिफारिसमा ६ महिना सम्म बिदा पाउने अधिकार हुने, प्रसुती बिदा पाएका कर्मचारीलाई शिशु स्याहारको लागी शिशु स्याहार खर्च दिइने, कल्याणकारी कोष तथा पुरस्कारको व्यवस्था गर्ने प्राब्धान समावेश छ ।
करारका कर्मचारीले स्थानीय सेवाको कर्मचारीले पाए सरह बिदा पाउने लगायतका बिषयलाई प्राथमिकतामा राखेर विधेयक मा प्रस्ताव गरिएको छ । विधेयकका बिषयमा प्रदेश मामिला तथा कानुन समितिले सरोकारवाला पक्षसंग समेत छलफल गरेको थियो ।