Nepali News Portal

नेपालको पहिलो महिला मुख्यसचिव गड्तौला भन्नुहुन्छ- “कर्मचारी प्रशासन चुस्त बनाउछु ।”

उहाँ भन्दा माथि मुख्यसचिवको लाइनमा तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई र एकनारायण अर्याल हुनुहुन्थ्यो । तर उहाँले बाजी मार्न सफल हुनुभयो ।

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले रिक्त मुख्यसचिवमा प्रधानमन्त्री कार्यालयकी वरिष्ठतम सचिव लीलादेवी गड्तौलालाई नियुक्ति गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई  मुख्यसचिवमा नियुक्ति गरेको हो । यसअघि उहाँ  कायममुकायम मुख्यसचिवको रूपमा काम गर्दै आउनु भएको थियो । सरकारको यो निर्णयसँगै देशले पहिलो महिला मुख्यसचिव पाएको छ ।
नेपालको इतिहासमा उहाँ पहिलोपटक पूर्ण जिम्मेवारीसहितको पहिलो कामु मुख्यसचिव हुँदै मुख्यसचिव हुनुभएको हो । तत्कालीन मुख्यसचिव डा.वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि उहाँले उक्त जिम्मेवारी पाउनुभएको थियोे  ।
अख्तियारले असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गरेर गड्तौलालाई जिम्मेवारी दिएको थियो ।
उहाँ  प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव हुनुहुन्थ्यो  । गड्तौला वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाउने सूचीमा हुनुहुन्थ्यो  । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उहाँलाई कामु मुख्यसचिव बनाएको थियो ।
उहाँ भन्दा माथि मुख्यसचिवको लाइनमा तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई र एकनारायण अर्याल हुनुहुन्थ्यो । तर उहाँले बाजी मार्न सफल हुनुभयो ।
एक महिना मात्र कार्यकाल 
गड्तौला लामो समयसम्म कर्मचारी प्रशासनको नेतृत्वमा भने बस्न पाउनुहुने छैन  । उमेर हदका कारण उहाँले भदौ १५ गते अनिवार्य अवकाश लिनुपर्ने हुन्छ । ५८ वर्षको उमेर हदका कारण उहाँ अनिवार्य अवकाशमा जानुपर्ने छ ।
सहसचिवबाट २०७७ कात्तिक २७ गते सचिवमा बढुवा हुनु भएकी गड्तौला ३ वर्ष १० महिने सचिवको कार्यकाल पुरा गर्नु हुने छ । २०२३ साल भदौ १५ गते जन्मिनु भएकी  गड्तौला २०८१ भदौ १५ गते ५८ वर्ष पूरा गर्ने भएका कारण सचिवको ५ वर्षे कार्यकाल पूरा गर्न नपाएरै अनिवार्य अवकाशमा जाने हुनुभएको  हो ।
तेह्रथुमको पिप्ले (हाल म्याङ्लुङ–४) मा २०२३ भदौ १५ गते जन्मनु भएकी  गड्तौला  मध्यमस्तरीय परिवारकी सदस्य हुनुहुन्छ। छोरीहरूलाई पढाउनुपर्छ भन्ने शैक्षिक चेतना भएको परिवारमा हुर्केकी भएकाले सानैदेखि उहामा कानुन शिक्षाप्रति रुचि रहेको थियो । सोही कारण उहाले कानुन क्षेत्रलाई रोज्नुभयो ।
उहाँले २०५२ पुसमा शाखा अधिकृतबाट कानुन सेवामा प्रवेश गर्नु भयो । सिंह वाहिनी माध्यमिक विद्यालयमा विद्यालय तहको अध्ययन पुरा गर्नु भै त्यसपछि नेपाल ल क्याम्पसबाट आइएल  र बीएल उत्तीर्ण गर्नु भयो ।उहाँले  थप अध्ययनका लागि काठमाडौँ स्कुल अफ ल पुग्नु भयो । उहाँले त्यहाँबाट ह्यूमन राइट्स एन्ड जेन्डर जष्टिस (मानव अधिकार र लैगिक न्याय) मा स्नातकोत्तर (एलएलएम) गर्नुभयो । उहाँले कानुनमा मात्र चित्त बुझाउनु भएन । अध्ययनमा मेधावी गड्तौलालाई राजनीतिशास्त्र पढ्ने रहर लाग्यो । रहर पुरा गरेरै छाड्ने हठी स्वभावकी गड्तौलाले राजनीतिशास्त्रमा समेत एमए पास गर्नुभयो ।
उहाँ २०६३ कात्तिकमा उपसचिव हुँदै २०७० माघमा सहसचिव बन्नु भयो । त्यसको सात वर्षपछि २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) मा बढुवा हुनु भयो  ।  २०८१ असार १० गतेदेखि ३० गतेसम्म निमित्त मुख्यसचिव र असार ३१ गतेदेखि कायममुकायम मुख्य सचिव बन्नु भएको गड्तौला बिहीबारबाट मुख्यसचिव हुनु भएको हो ।
करिब १७ वर्ष कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा काम गरेकी उहाँले  विशेषतः विधेयक मस्यौदामा दक्खल राख्नु हुन्छ  । उहाँसँग गृह मन्त्रालय, जलस्रोत मन्त्रालय, ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा समेत काम गरेको अनुभव रहेको छ। उहाँले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचन अधिकृत भएर काम गर्नु भयो ।
उनले आफू छोटो अवधिका लागि मुख्यसचिव हुने भएपनि विवादरहित रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।  आफ्नो कार्यकालमा कर्मचारी प्रशासनलाई चुस्त बनाउनुका साथै सबै कर्मचारीलाई हौसला प्रदान गरेर काम गराउने उहाँको भनाइ छ ।

You might also like
Leave A Reply

Your email address will not be published.