Nepali News Portal

ड्रिम युनिक रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरीको जित

 

भैरहवा।

लुम्बिनी खुकुरी क्लबले ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा जित निकालेको छ । आइतबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा खुकुरीले देवदह क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्दै जित हात पारेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ३९ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २ सय १ रनको योगफल बनायो । उसका लागि शंकर रानाले ४३, प्रज्वल थापाले ३४, संदीप रजालीले २४, अन्तिम थापाले १८, निश्चल चौधरी र धनबहादुर शाहीले समान १६–१६ तथा सन्तोष यादवले १५ रनको योगदान दिए । बलिङमा देवदहका शिवकुमार गुप्ताले ३ तथा समीर विष्ट, अर्जुन रायमाझी र सुरज खड्काले समान २–२ विकेट लिन सफल भए ।

२ सय २ रनको लक्ष्यसहित मैदानमा उत्रिएको देवदह ४० ओभर २ बलमा १ सय ५६ रन जोड्दा अलआउट भयो र हार व्यहोर्यो । उसका लागि सुमन पाण्डेयले ४०, समीर विष्टले २०, संकेत भट्टराईले १७, रोशन गौत्मले १६, विक्की कार्कीले १४ तथा कृष्ण पासी र विशाल ज्ञवालीले समान १०–१० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार चौहानले ४, शंकर रानाले ३ तथा दुर्गेश गुप्ता र सन्देश जिसीले १–१ विकेट हात पारे । खेलमा लुम्बिनी खुकुरीका शंकर राना प्लेयर अफ द म्याच भए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.