Nepali News Portal

भूकम्प प्रभावित क्षेत्रमा आफै उद्धारमा खटिए प्रधानमन्त्री प्रचण्ड

बुटवल । सेनाको मेडिकल टिमसहित शनिवार बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै उद्धारमा खटिए ।
भूकम्पबाट घाइते भएका जाजरकोट नलगाडका ७ जना घाइते र ७ जना कुरुवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
घाइते तथा कुरुवाहरूको प्रधानमन्त्री सवार हेलिकोप्टरमार्फत सुर्खेत लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड भूकम्पले केन्द्रबिन्दु बनाएको जाजरकोटको स्थलगत अवलोकनपछि रुकुम पश्चिमतर्फ लागेका छन् ।

प्रधानमन्त्री प्रचण्ड मेडिकल टिमसहित शनिवार बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । आफू प्रभावित क्षेत्रमा पुग्दा प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वागत नगर्न समेत भनेका छन् ।
गए राति गएको ६.४ म्याग्निच्युड कम्पनको भूकम्पबाट अहिले सम्म १३२ को मृत्यु र १४० घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ ।

रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गए राति गएको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको रुकुम पश्चिम पुगेका छन् । शनिबार बिहानै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट पुगेका प्रधानमन्त्री त्यहाँबाट रुकुम पश्चिम पुगेका हुन् ।

रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको स्थितिबारे जानकारी लिएका छन् । साथै भूकम्प पीडितहरूको उद्धार तथा राहतको अवस्थाबारे पनि जानकारी लिएका छन् ।

लुम्विनी प्रदेश सरकार भुकम्प प्रभावित क्षेत्रमा

स्वास्थ्यकर्मीको टोलीलाई भुकम्प प्रभावित क्षेत्रमा पठाउदै लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी ।

गृहमन्त्री सन्तोष कुमार पाण्डेको नेतृत्वमा राहत तथा उद्धार टोली र स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको छ ।
लुम्बिनी प्रदेशका २५ जना चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट घाइतेहरुको उपचारका लागि दुई प्रादेशिक अस्पतालबाट २५ जना बढी चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँग टेलिफोन संवाद गरी स्वास्थ्यकर्मीको टोली प्रभावित पठाएका हुन् । दाङबाट राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना र लुम्बिनी प्रादेशिक अस्पतालबाट पाँच जना चिकित्सक औषधि र उपचार सामग्रीसहित प्रस्थान गरेका हुन । लुम्बिनी प्रादेशिक अस्पतालका एमडी जीपी डा। सुनिल सुनारको नेतृत्वमा पाँच जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

 

भूकम्प प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट
जाजरकोट र रुकुम पश्चिममा भुकम्प प्रभावितहरुको खोज तथा उद्धारमा नेपाली सेनाको टोलीले काम गरिरहेको छ । दुईवटा बटालियनबाट खोज तथा उद्धारका लागी सैनिक परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता ९सहायकरथी० कृष्णप्रसाद भण्डारीले बताए ।
जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।

खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट परिचालन गरिएको छ । काठमाडौँबाट स्काई ट्रक र ३ वटा हेलिकप्टरमा मेडिकल सामग्री सहितको जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको सहायकरथी भण्डारीले जानकारी दिए । सैनिक प्रवक्ता भण्डारीकाअनुसार प्रभावित क्षेत्रमा १६ जनाको मेडिकल टिम घटनास्थलमा घाइतेको उपचारमा खटिएका छन् ।

 

You might also like
Leave A Reply

Your email address will not be published.