Nepali News Portal

गणतन्त्र उल्टाउने खतरा अझै पनि छ: प्रधानमन्त्री

बुटवल। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँँदै उक्त षड्यन्त्र असफल पारिने बताएका छन।
बिहीबार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताए ।
प्रधानमन्त्रीले भने , ” हामी भने जस्तो जनताको गणतन्त्र आएको छैन तर पनि यसैलाई उल्टाउने भयानक षड्यन्त्र हुँदैछ। त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ। तर, हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौं।”     “गणतन्त्र, संघीयताको रक्षा हामीले मात्रै गर्न सक्छौं, अरूलाई खास चासो पनि छैन, उनीहरूको एजेन्डा पनि होइन। माओवादी कमजाेर भए संविधान मात्रै विघटन हुँदैन, देश नै विघटनको खतरा रहन्छ। पछिल्लोसमय धरान, नेपालगञ्ज, सर्लाही लगायतका स्थानमा जे प्रयत्न गरियो, त्यो सामान्य छैन। गणतन्त्र नै उल्टाएपछि संघीयता पनि रहँदैन, त्यसपछि देश नै टुक्राउन सकिन्छ भन्ने गम्भीर षड्यन्त्र छ। यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ । “पार्टी स्कुल कार्यक्रममा प्रधानमन्त्रीले भने ।

“भूराजनीतिक दृष्टिले विश्वका महाशक्तिको दवावमा हामी छौं। हाम्रा कारणले होइन महाशक्ति राष्ट्रहरूको शक्ति संघर्षको चेपुवामा हामी पर्नसक्ने खतरा छ। रूस-युक्रेन, इजरायल-हमास युद्ध र विश्वव्यापी परिघटना हेर्दा परिस्थिति ध्रुवीकरणतर्फ गएको छ। तसर्थ, नेपालले सन्तुलित र परिपक्व कुटनीतिक बाटो लिनुपर्छ। त्यसमा सरकारले सकारात्मक पहल लिएको छ। संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा हाम्रो पहल उत्कर्षमा पुगेको छ” प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री प्रचण्डले भने, “कम्युनिस्टहरूले बाँचुञ्जेल परीक्षा दिनुपर्छ। म पनि परीक्षामा छु, तपाईहरू पनि परीक्षामा हुनुहुन्छ। यसपटक सरकारले निकै विवेक र दृढताका साथ कदम चालेको छ। भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, भूमाफियाहरूलाई कार्वाही, कुटनीतिक सन्तुलन लगायतका जति काम गरिएको छ, तिनीहरूको रणनीतिक महत्त्व छ। अहिले नै उत्पात, चमत्कार गर्न सकिँदैनथ्यो। हामी गठबन्धनमा छौं, त्यसका सीमा र जटिलताहरू पनि छन्।”नेकपा (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश समिति स्कुल बिभागले आयोजना गरेको प्रदेश स्तरीय आधारभुत स्कुलिङ प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन  केन्द्रिय सचीव हितमान शाक्यको अध्यक्षता प्रदेश अध्यक्ष सुदर्शन बरालको संचालनमा भएको कार्यक्रममा ठाकुर बिक हरिहर चौधरी , मक्सुद अलि, कुमारी बराल , अमर रोका लगायतले अनुभवजन्य मन्तव्य व्यक्त गरेका थिए । दुई दिन सम्म लुम्बिनीमा संचालन भएको प्रशिक्षणमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्नु हुने केन्द्रिय सदस्य, जिल्ला संयोजकहरुको सहभागी रहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.