लुम्बिनी गुरुयोजना समयअनुसार परिमार्जन गर्नु पर्छ : डा. लामा लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना समय सापेक्ष परिमार्जन गर्न आवस्यक रहेको बताएका छ्न । उनले लुम्बिनीस्थित मायादेवी मन्दिर नयाँ डिजाइनमा आकर्षक बनाउनुपर्नेमा जोड दिए ।
मायादेवी मन्दिर पुनःनिर्माणका लागि व्यक्तिगत रुपमा ७ करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको हुँदा उक्त रकम छिटै उपलब्ध गराउने उनले बताए ।
बिहीबार लुम्बिनी विकास कोषले लुम्बिनीमा आयोजना गरेको पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा उपाध्यक्ष लामाले सम्बन्धीत क्षेत्र र निकायसँग समन्वय र परामर्श गरि गुरुयोजना परिवर्तन गर्नु पर्ने बताए । उनले भने, ‘लुम्बिनीमा ३०० फिट अग्लो बुद्ध मूर्ति बनाउन पाए के हुन्छ ? तर, त्यो गुरुयोजनाभित्र पर्दैन ।’ उनले अब ६/७ अर्बको रकम जुटाएर गुरूयोजना सम्पन्न गर्ने बताए उनले भने – अहिले देशको बजेटमा पनि समस्या छ । म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु, केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने छु । ’ उनले गुरुयोजना पूरा गर्न भनेर नै आफू यहाँ आएको बताए । लुम्बिनीमा केही काम गरेर देखाउन आफूले जिम्मेवारी लिएर आएको उनको भनाइ छ। उनले आफू पवित्र भूमि बुद्ध जन्मस्थल लुम्बिनीमा आएकाले परिणाम आउने गरी काम गर्ने र कामको गतिलाई अझ बढाउने बताए ।
उपाध्यक्ष डा. लामाले लुम्बिनीको अपेक्षित रुपमा प्रचारप्रसार हुन नसकेको बताए । उनले भने, ‘विश्वमा डेढ अर्ब बौद्ध धर्र्मावलम्बीहरु छन्, त्यसको केही प्रतिशत मात्र पनि लुम्बिनीमा ल्याउन सकिए त्यसले नेपालको विकासमा टेवा पुर्याउँछ । ’
उनले लुम्बिनीका गुम्बा बिहारमा सञ्चालित गेष्ट हाउस दर्ता हुनुपर्ने र कर तिर्नुपर्ने बताए । उनले कानूनी दायरामा सञ्चालन हुने कुरा रोक्न नसकिने बताए ।
उपाध्यक्ष डा. लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउको बताउँदै यसका लागि आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्ने बताए । उनले कर्मचारीहरुलाई आर्थिक अनुशासन र पारर्दिता कायम राख्न निर्देशन दिइएको बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नवनियुक्त उपाध्यक्षलाई लुम्बिनी बनाउने सन्दर्भमा सिंगो टिमको साथ सहयोग रहने बताए । उनले लुम्बिनी विकास कोषले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम दुईजना उपाध्यक्षको भिजनअनुसार आएको बताए । सदस्य सचिव शाक्यले प्राचिन शाक्य गणराज्य कपिलबस्तुको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकरणको तयारी भइरहेको समेत बताए ।