गुल्मी । गुल्मी अस्पतालमा ७ वर्षकी बालिका मृत्यु प्रकरण छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलवार बिहान गुल्मी अस्पतालमा उपचारको मृत्यु भएको थियो । बालिकाका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि मंगलबार दिनभर गुल्मी अस्पताल तनावग्रस्त बनेको थियो । बालिकाको मृत्यु पश्चात उत्पन्न समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा अस्पताल प्रशासन, पीडितका आफन्तबीच छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डा. बिवेक खनाल, रेसुंगा नगरपालिकाका अधिकृत बिनोद मरासिनी र प्रहरी निरीक्षक किरण सापकोटा रहेका छन् । समितिले बुधवार बिहान ८ बजे बालिकाको शब पोष्टमार्टट गरेर छानबिनको सुरुवात गर्ने भएको समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गैरे बताए । टायर बाल्दा दुई घाइते गुल्मी अस्पतालमा बालिका मृत्युको विषयमा छानबिन माग गर्दै भएको विरोध प्रदर्शनमा आगोले पोलेर २ जना घाइते भएका छन् । टायर बालेर गरिएको प्रदर्शनमा दुई जनालाई आगोले पोलेको प्रहरीले जनाएको छ ।
बालिकाको आफन्तले प्रशासन कार्यालय अगाडि नाराबाजी र टायर बाल्ने क्रममा शरीरमा पेट्रोल परेर आगो लाग्दा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका लक्ष्मण पाण्डे र कृष्ण पौडेल जलेर घाइते भएका हुन् ।
मंगलबार विहान अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।
अस्पतालको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका थिए । त्यस क्रममा जिल्ला अस्पतालका प्रमुख डा. राजेन्द्र जिसीमाथि कुटपिट भएको थियो । कुटपिटको विरोधमा जिल्ला अस्पतालका कर्मचारीले आकस्मिकबाहेकका सेवा बन्द गराएका छन् ।