Nepali News Portal

सामाजिक सद्भाव कायम राख्न नागरिक समक्ष अपील

काठमाडौं । सामाजिक संजालहरुमा आएका गलत अभिव्यक्तिहरुलाई लिएर धरानमा सामाजिक सद्धाव विग्रन सक्ने तर्फ नेताहरुले ध्यानकर्षण भएको जनाउदै सामाजिक सद्भाव कायम राख्न नागरिक समक्ष अपील गरेका छन ।
प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् ।

शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको बताएका छन् ।
हरेक समस्याको संवाद र सहमतिको बलबाटै समाधान गर्न सकिने भन्दै उनले धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराएका छन् । त्यसका लागि पहल गर्न राजनीतिक दल तथा संघसंस्थाहरुलाई अपील गरेका उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् ।

‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु ।’ वक्तव्यमा उल्लेख छ ।
त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीको भावना र चाहना विपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा नहुने बताएका छन् । यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने सभापति देउवाले बताएका हुन् ।

शनिबार विज्ञप्ति जारी गर्दै देउवाले केही दिन यता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिलसमेत गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजको सद्भाव खलबल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका हुन् ।
उनले समाजको सद्भाव खलबल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गरे । उनले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भई गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे ।

उनले भने, ‘अहिले पनि कतिपय मानिसहरू प्रश्न सोध्नुहुन्छ, त्यो प्रश्नभित्र नियत बसेको हुन्छ । बङ्ग्याएर, टिङ्ग्याएर, गलत हेडलाइन दिएर जुधाउने एउटा जाति र अर्को जातिलाई लडाउने अभिव्यक्ति दिने त्यस्ता मिडिया हेर्दा पनि नहेर्नुस्, त्यस्ता सोसल मिडिया अकाउण्ट भएका मानिसहरू ब्लक गर्नुहोस् । समाजको सद्भाव खलबल्याउने मान्छेहरू किन ब्लक नगर्ने रु समाज सद्भाव बोक्ने मान्छेलाई खोज्ने हो । फूल रोप्ने मान्छेलाई खोजी खोजी माया गरौँ, काँडाले घोच्ने मान्छेबाट टाढा बसौँ ।’

सामाजिक सञ्जालमा पोष्टाईएका ‘गोरु काट्ने र मासु खाने / नखाने’ जस्ता गलत पोस्ट र स्ट्याटसको प्रभावले केही समुहले सुनसरीको धरानमा धार्मिक द्वन्द्व निम्ताउने प्रयास गरेका थिए । तर, स्थानीय प्रशासन, स्थानीय जनता र नागरिक समाजको सचेत पहलले शनिबारको सम्भावित दुर्घटना टरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.