काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत व्यापारको लागि भारत र बंगलादेशबीच सम्झौताको अन्तिम तयारीमा जुटीरहेको बताएका छन ।
आफू नेतृत्वको सरकारले ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्वका निर्णय उनको भनाई छ ।
नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको बताए ।
‘मैले २०७३ को साउनमा म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले वर्षात्को समयमा पनि व्यहोरिरहेको लोडसेडिङ्को कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु । त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो भने देशका करिब ४० प्रतिशत जनता त विद्युत्को पुहँचभन्दा बाहिर थिए ।’ उनले भने प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपश्चात् सरकारले संकल्प, इमानदारिता र मेहेनतका कारणले लोडसेडिङ अन्त्य भयो ।‘
उनले प्राधिकरणभित्र नीतिगत सुधार, प्राधिकरणको घाटा अपलेखन गरी वित्तीय सुरक्षा प्रदान, प्राधिकरण व्यवस्थापन र संस्थाको नेतृत्व परिवर्तन गरी लोडसेडिङलाई पूर्णरूपमा अन्त्य गर्दै संस्थालाई नाफामा लाने काम भएको बताए ।
नेपालले हरित हाइड्रोजन उत्पादन र प्रयोगमा पनि विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आइसकेको प्रधानमन्त्रीको भनाइ छ ।
मासिक २० युनिटसम्म खपत गर्ने ग्राहकहरूलाई निस्शुल्क विद्युत उपलब्ध गराउने निर्णयबाट गरिबीको रेखामुनि रहेका करिब २० लाख घरधुरीले निस्शुल्क रुपमा विद्युत प्रयोग गरिरहेको भन्दै उनले आगामी दुई वर्षभित्र सबैको घरदैलोमा बिजुली पुर्याउने लक्ष्य प्राप्तीमा प्राधिकरण लागेको बताए ।
स्वदेशमा उत्पादित जलविद्युतलाई आन्तरिक माग पूरा गरी अन्तरदेशीय बजारको पहुँच दिलाउन आफूले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा भएका समझदारीलाई दीर्घकालिन विद्युत व्यापारको एक महत्वपूर्ण कोसेढुंगाका रूपमा लिएको प्रधानमन्त्रीले बताए ।