Nepali News Portal

माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने 

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी माओवादीको छ ।

आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको सचिव गणेश शाहले जानकारी दिए ।

त्यसका लागि आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुँदै छ । केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।त्यसैगरी आज बस्ने केन्द्रीय समिति बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेश हुने नेताहरुले बताएका छन् ।

नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार विधान अधिवेशन मंसिरतिर र विशेष महाधिवेशन चैतभित्र गर्ने प्रस्ताव छ । यद्यपि केन्द्रीय समिति बैठकले त्यो मितिलाई अन्तिम टुंगो लगाउने छ । सो बैठकले विधान अधिवेशन र विशेष महाधिवेशनको मिति टुंगो लगाउने छ ।

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक आजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय समेत गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.