विधान संशोधन गर्दै माओवादी केन्द्र
जनयुद्धकालीन नेतृत्व, विचार, संगठन चल्न नसक्ने भएपछि समय सापेक्षतामा पार्टीलाई रुपान्तरण गर्न विधान सम्मेलन गर्न थालिएको नेताहरु बताउँछन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो पटक विधान सम्मेलन गर्न छलफल शुरु गर्ने भएको छ । पार्टीको साउन १७ गतेदेखि तीन दिनसम्म काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा विधान सम्मेलनबारे छलफल हुने भएको हो ।
२०७८ साल पुसमा भएको आठौँ महाधिवेशन लगत्तै विशेष महाधिवेशन गर्ने समझदारी भएको थियो । तर, पार्टी पदाधिकारी बैठकमा नेताहरुले विशेष महाधिवेशन भन्दा विधान सम्मेलन गर्न सुझाव दिएको नेताहरुले बताएका छन् । माओवादीलाई विधि विधानमा चलाउन विधान सम्मेलन गर्न नेताहरुले सुझाव दिएपछि विशेष महाधिवेशन रोकिएको हो । जनयुद्धकालीन नेतृत्व, विचार, संगठन चल्न नसक्ने भएपछि समय सापेक्षतामा पार्टीलाई रुपान्तरण गर्न विधान सम्मेलन गर्न थालिएको नेताहरु बताउँछन् ।
पार्टीलाई व्यवस्थित बनाउन विधान सम्मेलन गर्ने गरी छलफल केन्द्रित भएको सचिव दीनानाथ शर्माले बताए । पार्टीको विधान सम्मेलन गरेर अहिलेको संगठन स्वरुप र संरचनालाई व्यवस्थित गर्नपर्छ भन्ने सुझावका आधारमा विधान सम्मेलनको वारेमा छmफल गरिने उनको भनाई छ । । अबदेखि बलियो विधान बनाएर लागु गर्ने र अर्को महाधिवेशन नआउँदासम्म संशोधन गर्न गर्न नपाउने व्यवस्था गर्न खोजिएको उनले बताए ।
माओवादी विधि र विधानमा चल्ने पार्टी हो भन्ने स्थापित गर्न समेत नेताहरुले विधान सम्मेलनलाई एजेण्डाको रुपमा प्रवेश गराउन थालेका हुन् । विधान सम्मेलनमा पार्टीको विधान, विचार, कार्यक्रम, नेतृत्व लगायत समग्र विषयमा छलफल हुने शर्माले बताए ।
पार्टी उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशन भन्दा विधान सम्मेलन गर्नेगरी छलफल केन्द्रित भएको बताए । कांग्रेस, एमाले लगायत दलले विधान सम्मेलन गरेर पार्टीलाई व्यवस्थित गरेकाले माओवादीले समेत विधान सम्मेलन गर्नुपर्ने पुनले बताए ।
पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकमा पेस हुने एजेण्डाका विषयमा छलफल गरी टुङ्गो लगाउने भएको छ । पदाधिकारीबाट एजेण्डा फाइनल भएपछि १६ गते बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्ने भएको छ । त्यसपछि साउन १७ गतेदेखि केन्द्रीय समिति बैठक बसेर एजेण्डामा केन्द्रित भइ छलफल गर्ने भएको छ ।