Nepali News Portal

भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने जसपाको निर्णय

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले सरकारले जारी गरेका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको हो ।
भूमिसम्बन्धी अध्यादेशमा सार्वजनिक सम्पत्ति अतिक्रमण, वन फडानी, पर्यावरणमा गम्भीर असर पार्ने तथा भू-माफियालाई फाइदा पुग्ने भएकाले विपक्षमा मतदान गर्ने निर्णय गरिएको जसपा नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संसदीय दलका नेता एवं अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अन्य ५ वटा अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
जसपाले भूमिहीन दलित, गरिब सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि वर्तमान कानूनमै पर्याप्त व्यवस्था भएकाले सरकारले त्यसैअनुसार समाधान गर्नुपर्ने बताएको छ।
बैठकले भूमिसम्बन्धी अध्यादेशले अव्यवस्थित बसोबासलाई प्रोत्साहन गर्ने, राष्ट्रिय निकुञ्ज, वन क्षेत्र, नदी किनार, सार्वजनिक जग्गा अतिक्रमण गराउने तथा चुरे क्षेत्रमा गम्भीर असर पार्ने भएकाले दीर्घकालीन रूपमा देशको हितविपरीत रहेको ठहर गरेको छ।
जसपाले यो अध्यादेशलाई पारित हुन नदिन सशक्त रूपमा विरोध गर्ने निर्णय गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.