एमालेले सरकार विरुद्ध भण्डाफोर अभियान’ सञ्चालन गर्ने
काठमाडौँ । नेकपा एमालेले सरकारका गलत कामकारबाहीविरुद्ध भण्डाफोर अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सम्पन्न सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका गलत कामकारबाहीका विरुद्ध अब पार्टीले देशव्यापी रूपमा भण्डाफोर अभियान सञ्चालन गर्ने उपमहासचिव लेखराज भट्टले बताउनु भयो ।
एमालेले पछिल्लो समय मुलुकमा बढ्दै गएको महँगी, दलित समुदायमाथिको हिंसा र सरकारले ल्याउन लागेको अध्यादेशको समेत कडा शब्दमा भर्त्सना गरेको छ ।
त्यसै गरि निर्वाचन समीक्षा र कार्य विभाजन गर्न बसेको नेकपा एमालेको बैठकले समग्र पार्टी जीवनको बस्तुस्थितिको प्रतिवेदन तयार गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्बी सुव्वा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट,छविलाल विश्वकर्मा र सात वटै प्रदेशका इन्चार्ज सहभागी छन् ।
कार्यदललाई पार्टीको समग्र समीक्षा प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ । गत सोमबार सुरु भएर आज आइतबार सकिएको बैठकमा नेताहरूको कार्य विभाजन समेत समेत गरिएको छ।
अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आइतबार १२ बजेदेखि बसेको बैठकमा नेताहरूले आफ्ना धारणा राखेर कार्य विभाजनमाथिको छलफलपछि अध्यक्ष ओलीले जवाफ दिनु भएको थियो ।
You might also like