तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
ल्होसार भनेको नयाँ वर्ष हो। यो पुस महिनाको १५ गते पर्छ। तमु जातिमा पच्यु सबैभन्दा पुरानो पुरोहित मानिन्छ। सन् १०० बी.सी.तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्री चन्पोको सातौं पुस्ता) को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भयो। ड्रिगमको हत्यारा (लोङम डाजी) को बदला लिने उद्देश्यले उनका खलकले पश्चिम ङारी, ड्रुसा र सासु क्षेत्रबाट केही वोन पुरोहितहरू र चलाख मानिसहरूलाई गोप्य रूपले निम्ताएको थियो।
पछि सम्थव ङोन्पो नामक वोन्पो विनले बौद्ध दर्शनभन्दा भिन्न छ वटा सिद्धान्तहरू बोध गराएर तिनलाई प्रचलित वोन धर्ममा समावेश गरी त्यसलाई पूर्णताको रूप दिए, जसलाई क्यार वोन भनियो। त्यसैताका पहिलो चन्द्रमास पात्रोको शुरुवात गरियो। त्यस प्राचीन पात्रोअनुसार ल्होसार वर्षको दिन पुस १५ मा मनाइन्छ, जुन नेपालको तमु जातिमा अद्यावधि प्रचलित छ र त्यही दिनतिर तिब्बतको सिगाचेका ठाउँहरूमा पनि मनाइँदैछ।
तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत् सुरु भएको सङ्केत गर्दछ। प्राचीन तमु प्यो शास्त्रअनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ। ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाँचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशिष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।
ल्होसारको दिन गुरूङ जातिहरु आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन्। अन्य जातले जस्तै गुरूङ जातिहरुको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरुमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित कौडा नाँच नाँचेर आफ्ना परिवार, साथीभाइसँग रमाइलो गर्छन्।
ल्होसारको अवसरमा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड , लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर लगायतले शुभकामना सन्देश जारी गरि शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख तुलाराम घर्तीमगरद्धारा शुभकामना व्यक्त
लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले तमु ल्होसारको अवसरमा देश–विदेशमा रहनु हुने लुम्विनी प्रदेशवासी गुरुङ्ग समुदाय एवं गैर गुरुङ्ग समुदायका आमा–बुवा, दिदी–बहिनी, दाजु–भाईहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष । आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । सभामुख घर्ती मगरले गुरुङ्ग समुदायले विशेष पर्वको रुपमा मनाइने ल्होसारले समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।
“नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । यहां विभिन्न जात–जातिको आफ्नै भाषा, संस्कृति र मौलिक पहिचान छ । गुरुङ्ग समुदायको आफ्नै पुर्खाेली थातथलो, भाषा, लिपी र मौलिक संस्कार संस्कृति कला बोकेको बहुआयमिक पहिचान जसको आफ्नै जीवन शैली छ ।” उहांले आईतवार विहान जारी गर्नु भएको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ– आदिवासी जनजातिमा सूचिकृत यो समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आएको कुरा हामी कहिलै भुल्न सक्दैनौ । विभिन्न जातजाति भाषा भाषी भएको सुन्दर नेपालमा अझै सुन्दरता थप्न यो समुदायको विशेष महत्वपूर्ण भूमिका रहेको छ ।”
उहांले विश्व मानचित्रमै गुरुङ्ग समूदायले देखाएको आफ्नो उच्च मनोबल, साहस, बहादूरी अनि बफादारिताले नेपालीको शिर सदैव उच्च राखेको पनि शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
लुम्बिनी प्रदेश सभाले सामाजिक न्याय र सामाजिक सद्भावलाई स्थापित गर्न जातीय भाषिक र धार्मिक रुपमा उत्पीडित समुदायको भाषिक, धार्मिक र सांस्कृतिक हक अधिकार संरक्षणको लागि कानुन निर्माणमा विशेष ध्यान दिएको उल्लेख गर्नुहुदै सभामुख घर्ती मगरले तमु ल्होसारले सम्पुर्ण नेपालीहरुमा आपसी मित्रता भाईचारा बन्धुत्व सद्भाव र सहिष्णुताको कायम गर्न पनि महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।